काठमाडौं - भारतको जम्मु, कश्मिर र गुजरातको जुनागढलाई आफ्नो भूभाग दाबी गर्दै पाकिस्तानले नयाँ नक्सा सार्वजनिक गरेको छ। 

क्याबिनेटबाट नक्सा पारित भएसँगै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मंगलबार ‘आजको दिन पाकिस्तानको इतिहासकै महत्वपूर्ण दिन रहेको’ भनेका छन् । 

यद्यपि भारतको विदेश मन्त्रालयले पाकिस्तानको कार्यलाई इमरान खानको मनपरी कदमको संज्ञा दिदै घोरविरोध गरेको छ।

विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘यो एक अवैधानिक र अन्तर्राष्ट्रिय मान्यता विपरित पाकिस्तानले चालेको कदम निन्दनीय छ, यसले भारतको केन्द्रिय प्रशासित भूमीलाई दाबी गरेको छ ।’

यसले पाकिस्तानको क्षेत्रिय आतंकवादको जुनुनलाई स्पष्ट पार्छ उनले भनेका छन् । पाकिस्तानले पछिल्लो समय चीनको उक्साहटमा लागेर जम्मु र कश्मिरका विभिन्न भूभागमा आफ्नो विस्तार गर्न खोजेको भारतीय दावी छ ।

लद्दाख घटनापछि चीनले पाकिस्तानलाई झनै उग्र रुपमा भारतविरुद्ध प्रयोग गर्न खाजिरहेको भारतीय रणनीतिककारहरु बताउँछन् । 

पाकिस्तानले सार्वजनिक गरेको नयाँ नक्सालाई त्यहाँका सबै राजनीतिक पार्टीहरुले समर्थन जनाएको बताइएको छ । चीनले आफ्नो बेल्ट र रोड योजनालाई सफल पार्नका लागिसमेत पाकिस्तानलाई र सीमामा पर्ने भारतीय क्षेत्रहरुलाई निशाना बनाउन खोजिरहेको बताइएको छ ।