काठमाडौं - आइपिएल क्रिकेट अन्तर्गत चेन्नई सुपरकिंग्सविरुद्धको खेलका लागि दिल्ली क्यापिटल्सले अघिल्लो खेलको प्लेइङ-११ मा दुई परिवर्तन गरेको छ। खेलमा चेन्नईले टस जितेर बलिङ गर्ने निर्णय गरेकाले दिल्लीले पहिले ब्याटिङ गरिरहेको छ।

दिल्लीले रविचन्द्रन आस्विनको स्थानमा अमित मिश्रालाई स्थान दिएको छ। यस्तै मोहित शर्मालाई हटाएर आवेश खानलाई टिममा ल्याएको छ। दुई बलर परिवर्तन गर्दा दिल्लीले नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेलाई मौका दिएको छैन।

चेन्नईले अघिल्लो खेलको टिममा एक परिवर्तन गरेको छ। जसमा लुङ्गी एनगिडीको स्थानमा जोश हजलउडलाई ल्याइएको छ। दिल्लीको टिममा पृथ्वी शा, शिखर धवन, शिमरन हेटमेयर,  श्रेयर इयर, रिशव पन्त, मार्कोस स्टोइनिस, अक्षर पटेल, अमित मिश्रा, कागिसो रबाडा, एनरिच नोर्ट्जे र आवेश खान छन्। 

दुई खेल खेलेको चेन्नईले एक खेलमा जित र एक खेलमा हार बेहोरेको छ। एक खेलेको दिल्लीले जित निकालेको छ।