काठमाडौं - बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानी की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा दिनेश भट्ट संलग्न रहेको खुलेको छ ।

भागरथी पढ्ने सनातन धर्म माविकै कक्षा ११ मा पढ्ने दिनेशलाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो । आज सार्वजनिक गर्ने तयारी गरेको पनि प्रहरीले जनाएको छ । भट्ट भागरथीका चिनेजानेका मात्र होइन नाता जोडिएकै व्यक्ति हुन्। उनले भागरथीलाई बलात्कारपछि भीरबाट लडाएर बेहोस बनाई घाँटी घिचेर हत्या गरेको खुलेको छ।

माघ २१ गते (बुधबार)घरबाट विद्यालय गएकी किशोरी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा भोलीपल्ट साँझ ५ बजेतिर बलात्कारपछि हत्या भएको अवस्थामा शव नजिकैको लबलेक जङ्गलमा फेला परेको थियो ।

यसरी खुल्याे पाेल

बुधबार अपरान्ह पौने २ बजे कक्षा सकिएपछि भागरथी घरतर्फ लाग्छिन् । घर फर्किँदै गरेकी भागरथीलाई दिनेशले पिछा गरिरहेका थिए । लबलेक जङ्गलको खोँचमा दिनेश बाटो ढुकेर बसे । त्यसपछि दिनेशले भागरथीमाथि जबरजस्ती गरी हत्या गरेको प्रहरी स्रोतले बताएको छ ।

घटना भइसकेपछि दिनेश पहिलै झै बिद्यालयमा जाने र भागरथीको न्यायका लागि भएको कार्यक्रममा समेत सहभागी बनिरहेका थिए। तर, माघ २३ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर र अनुसन्धान टोली घटनास्थल पुगेपछि दिनेश सहभागी हुँदैनन् । उनी गोरु चराउन भन्दै गोठालो लाग्छन् । त्यसपछि प्रहरीको अनुसन्धानको केन्द्रमा परेका दिनेशलाई बोलाएर सोधपुछ गरेको थियो । सुरुमा अस्विकार गर्दै आएका दिनेशले सोधपुछ गर्दै जाँदा निरीह बन्दै गएका थिए । लामोसमय सोधपुछपछि भागरथीको बलात्कारपछि हत्यामा उनले आफ्नो संलग्नता स्वीकारेका थिए ।