एजेन्सी - बुधबार इराकस्थित २ वटा अमेरिकी सैन्य अखडामा हमला भएको छ । इरानले गरेको उक्त हमलामा परी कम्तिमा पनि ८० अमेरिकी मारिएको इरानी समाचार माध्यमले जनाएका छन् ।

इरानको सरकारी टेलिभिजनले कम्तिमा पनि ‘८० जना अमेरिकी आतंककारी’ मारिएको जनाएको हो । १५ वटा मिसाइल हमलाबाट अमेरिकी हेलिकप्टरसहित महत्वपूर्ण उपकरणमा गम्भीर क्षति भएको समेत समाचारमा बताइएको छ ।

त्यस्तै मिसाइल हमलाको प्रतिकार गरेमा अन्य १०० वटा अमेरिकी निसानामा हमला गर्ने इरानी सेनाले चेतावनी दिएको छ ।

बुधबार इरानले आफ्ना वरिष्ठ जनरल कासिम सुलेमानीको हत्याको बदला लिने घोषणा गरेसँगै इरानले इराकमा रहेको अमेरिकाकाे सैनिकको बेसक्याम्पमा कैयौं ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ ।

अमेरिकी सैनिकको बेसक्याम्पलाई लक्षित गरेर एक दर्जन भन्दा बढी ब्यालेस्टिक मिसाइल प्रहार गरिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।

गएको शुक्रबार इराकको राजधानी बग्दाद स्थित विमानस्थलबाट बाहिरिने क्रममा अमेरिकाले गरेको हवाई आक्रमणमा सुलेमानीको मृत्यु भएको थियो । इरानले सुलेमानीको हत्याको बदला लिने चेतावनी दिइसकेको छ ।

साथै इरानको सैन्य बल इस्लामिक रिभोलुस्नरी गार्ड कर्पले इरानमाथि पुनः हमला भए युएईको दुबई र इजरायलले हाइबामाथि हमला गर्ने बताएको छ ।

‘अमेरिकाले गरेका अपराधमा इजरायली सत्ता पृथक छैन’, इरानको सैन्य बललाई उदृत गर्दै तास्निमले लेखेको छ, ‘अमेरिकाको रक्तपिपासु र दम्भी सत्ता अर्थात सबैभन्दा ठूलो शैतानलाई चेतावनी दिन चाहन्छौं- यदि इरानमाथि थप हमला वा दुष्ट कारबाही भएमा हामीले पीडादायी र सशक्त जवाफ दिनेछौं ।’