काठमाडौं -  नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) को सात महिनापछि खर्च विवरण सार्वजनिक गरेको छ ।

मंसिर १५ देखि पुष ६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा सम्पन्न प्रतियोगिताको आय–व्यय विवरण बिहीबार कार्यसमिति बैठकमार्फत सार्वजनिक गरिएको हो ।

एनपीएल सम्पन्न भएको लामो समयसम्म वित्तीय विवरण गोप्य राखिएको भन्दै क्यानले चर्को आलोचना खेप्दै आएको थियो । क्यानका अनुसार, प्रतियोगिताबाट कुल २७ करोड ६९ लाख ६४ हजार १ रुपैयाँ आम्दानी भएको थियो । यसमा प्रतियोगिता आयोजना सम्बन्धी खर्च २० करोड १५ लाख ७३ हजार ५९९ रुपैयाँ रहेको छ ।

राजस्व बाँडफाँटअघि क्यानको शुद्ध आम्दानी ७ करोड ५३ लाख ९१ हजार २५९ रुपैयाँ रहेको जनाइएको छ। यसपछि आठ फ्रेन्चाइज क्लबलाई कुल आम्दानीको ५० प्रतिशत बाँडफाँट गरिएको छ, जसअनुसार क्लबहरूले ४ करोड ३७ लाख ४० हजार ४७० रुपैयाँ पाएका छन् ।

त्यसपछि बाँकी रहेको ३ करोड १६ लाख ५० हजार ७८९ रुपैयाँमध्ये ७० लाख रुपैयाँ प्रदेशहरूलाई वितरण गरिएको छ। बाँकी रकम क्यानको खातामा रहेको उल्लेख गरिएको छ । प्रतियोगिताबाट नेपाल क्रिकेट संघले दुई करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ शुद्ध आम्दानी गरेको बताइएको छ ।

यस प्रिमियर लिगको पहिलो संस्करण एनपीएलको आयोजना गत वर्ष मंसिर १५ देखि पुष ६ गतेसम्म त्रिवि क्रिकेट मैदानमा गरिएको थियो।