सिंहदरबार जलेपनि डिजिटल डाटा र अदालतका ब्याकअप सुरक्षित
काठमाडौं - जेनजी प्रदर्शनकारीले मंगलबार प्रधानमन्त्री, मन्त्री, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रीहरुमा मात्रै होइन नेताहरुको घर खोजीखोजी आगजनी गरे ।
त्यतिमात्रै होइन जेनजीको नाममा प्रदर्शनमा उत्रिएका उनीहरुले सरकारी कार्यालयहरुमा पनि आगजनी गरे । प्रदर्शनकारीहरुले राष्ट्रपति भवन शितल निवास, कारागारहरु र अधिकांश सरकारी कार्यालयदेखि सुपरस्टोर र केही अटोमोवाइलका सोरुमहरु समेत आगजनी गरे ।
प्रदर्शनकारीहरु देशको मुख्य प्रशासनिक भवन सिंहदरबारमा प्रवेश गर्दा समेत नेपालका तीनवटै सुरक्षा निकाय निरिह बनेपछि त्यहाँपनि आगजनी भयो । जसका कारण सिंहदरबार भित्र रहेका प्रायः सबै भौतिक संरचनामा क्षति पुगेको छ ।
तर, त्यहीँभित्र रहेको विभिन्न सरकारी निकाय र कार्यालयका डिजिटल तथ्यांक (डाटा) मा खासै असर नपुगेको एकीकृत डाटा व्यवस्थापन केन्द्र (आईडीएमस)ले जनाएको छ ।
आईडीएमसीले आफ्ना डाटालाई सुरक्षित राख्न हेटौंडामा स्थापना गरेको डीआर (डिजास्टर रिकभरी कार्यालय) पनि पूर्णतः सुरक्षित रहेको बताएको छ । कतिपयले हेटौँडाको डीआरमा आगजनी भएको र सम्पूर्ण सरकारी डाटा कोल्याप्स भएको हल्ला चलाएको भन्दै आईडीएमसीका कार्यालय प्रमुख मनिष भट्टराईले यी सबै अफवाह मात्रै भएको बताएका छन् ।
आईडीएमसीअन्तर्गत सबैजसो सरकारी निकाय र कार्यालयको डाटा सुरक्षित रहेको, तर केही निकायले आफ्नै डाटा सेन्टर सञ्चालन गरेका कारण मङ्गलवारको आगजनीमा परेको भए तिनका डाटाबारे केही भन्न नसकिने उनले बताए ।
यद्यपि सर्वोच्च अदालतका केही डाटा हेटौंडास्थित डीआर कार्यालयमा सुरक्षित रहेको उनले बताए ।
आन्तरिक राजस्व कार्यालय (आईआरडी), राहदानी विभाग, अध्यागमन कार्यालयहरूले आ–आफ्नै डाटा सेन्टर सञ्चालन गरेका छन् । तर, तिनले पनि आईडीएमसीअन्तर्गत डीआरमा व्याकअप राखेका कारण कुनै क्षति भएको भए रिकभर हुने भट्टराई बताउँछन् ।
अत्यधिक क्षति भएको सर्वोच्च अदालतले आईडीएमसीसँग डाटा रिकभरका लागि ताकेता गरेको छ । भट्टराईले बताएअनुसार पत्र पाएपछि हेटौंडास्थित डीआरमा रहेको ब्याकअप हेर्न सकिन्छ ।
फेसबुक पेज Like गर्नुहोस