काठमाडौं  - चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले झापाको बी एण्ड सी मेडिकल सञ्चालन गर्नका लागि २० करोड घुस मागेको आरोप लागेको छ ।

काठमाडौंमा पत्रकार सम्मेलन गरी बी एण्ड सीका सञ्चालक दुर्गा प्रसाईंले लाई सम्बन्धन दिन गिरीले २० करोड मागेको आरोप लगाएका हुन् ।

प्रसाईंका अनुसार गत मंसिर १५ गते बिएण्डसीलाई सम्बन्धन माग्दै निवेदन लिएर चिकित्सा शिक्षा आयोगमा आउँदा गिरीले द्वारिका होटलमा बोलाएर माेटाे रकम माग गरेका हुन् । प्रसाईंले आफूले सो रकम दिन नसक्ने भनेपछि गिरीले सम्बन्धनको निवेदन नै दर्ता गर्न नमानेको बताए ।

आयोगको उपाध्यक्ष पदमा भएपनि आफुले नेता तथा उपल्लो तहका कर्मचारीलाई मोटो रकम बुझाउन पर्ने भन्दै गिरीले २० करोड रुपैयाँ मागेको सञ्चालक प्रसाईंले बताएका छन् ।

तर, गिरीले प्रसाईलाई आफूमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका छन् । ‘यस्तो कपोकल्पित आरोपलाई पुष्टि गर्न म प्रसाईजीलाई चुनौती दिन्छु’, गिरीले भने, ‘आरोपमा कुनै सत्यता छैन । म फेरि पनि यो आरोप पुष्टि गर्न आग्रह गर्छु ।’ यो सबै भ्रम फैलाउन खोजिएको भन्दै उनले आपत्ती पनि जनाएका छन् ।