काठमाडौं उपत्यकाको फोहोर आजदेखि उठ्ने
काठमाडौं - विगत एक महिनादेखि काठमाडौं उपत्यकामा सडकमा थुप्रिएको फोहोर आज (बुधबार) देखि उठ्ने भएको छ । काठमाडौं महानगरपालिका र ल्याण्डफिल साइट (नुवाकोटको सिसडोल) का स्थानीयबीच मंगलबार सम्झौता भएपछि फोहोर व्यवस्थापनका सन्दर्भमा देखिएको अवरोध हट्ने भएको हो । काठमाडौं महानगरपालिकाको वातावरण विभाग र सिसडोलका स्थानीयबीच ९ बुँदे सहमति भएको हो ।
स्थानीय र महानगरपालिकाबीच तीनपिप्ले–सिसडोल सडक तत्काल (१५) दिनभित्र ग्राभेल गर्ने र कालोपत्रेका लागि लगत्तै टेण्डर प्रक्रियामा जाने, फोहोर ढुवानी गाडीहरुको लिचेड बक्सको व्यवस्था गर्ने तथा तीनपिप्ले–सिसडोल सडक खण्डमा पार्किङ गर्न र ओभरलोड ढुवानी गर्न नपाउने सम्झौता भएको छ ।
फोहोरको पछिल्लो समस्या समाधान गर्न मंगलबार प्रमुख शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको बैठक बसेको थियो ।
बैठकको निर्णयपछि उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर बुधबार विहान ६ बजेबाट उठ्ने काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बताए । बैठकमा सडक विभागले बञ्चरेडाँडासम्म पुग्ने बैकल्पिक बाटो निर्माण गर्ने र यसको खर्च महानगरपालिकाले व्यर्होने निर्णय भएको उनले बताए ।
फेसबुक पेज Like गर्नुहोस