संसदीय सुनुवाइसहित चारवटा समितिको बैठक बस्दै, के-के छन् एजेन्डा ?
काठमाडौं-संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।
संसद सचिवालयका अनुसार आज संसदीय सुनुवाइ समिति (संयुक्त), विधायन व्यवस्थापन समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।
बिहान ९ बजे सिंहदरबारमा बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ ।
यस्तै, बिहान ११ बजे कानून, न्याय तथा मानवअधिकार समितिको हल सिंहदरबारमा बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशहरूका सम्बन्धमा परेका उजुरीहरू खोल्ने र समितिका सदस्यहरूलाई कार्ययोजना वितरण गर्ने बताइएको छ ।
बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपालमा मनसुनजन्य विपदबाट जनधनको सुरक्षा तथा क्षति न्यूनीकरणका लागि गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सबै सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत सरोकारवाला निकायसँग छलफल गर्ने कार्यसूची छ ।
दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस