काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले निजी विद्यालयलाई नयाँ मापदण्ड अनुसार अघि बढाउनुपर्ने तर्क गरेकी छिन् ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएकी हुन् ।

बैठकमा उनले भनिन्–‘निजी खोल्न दिने कि नदिने ? भन्ने प्रश्न छ । भैरहेकोलाई के गर्ने ? शिक्षालाई गैरनाफामूलक बनाउने हो । जुत्ता बेचेजस्तो मुनाफा गर्न हुँदैन । संविधानको स्प्रिट नबोक्ने हो भने संविधान चेञ्ज गरौं ।’

उक्त प्रस्ताव अघि सार्दै उनले निजी विद्यालयलाई नयाँ मापदण्ड अनुसार अघि बढाउनपर्ने बताइन् ।

उनले भनिन्–‘निजीलाई नयाँ मापदण्ड अनुसार अघि बढाउनुपर्छ । १५ वर्षपछि क्रमश गैरनाफामूलक लोककल्याणकारी हुने बनाउनु पर्छ ।

त्यसका लागि समय सीमा नै तोकेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

उलने भनिन्–‘एउटा समय सिमा तोकेर जाऔं । १५ वर्षमा निजीलाई राष्ट्रियकरण होइन गैरनाफामूलक बनाऔं ।’

यता, नेकपा एमालेका सांसद छविलाल विश्वकर्माले भने विद्यालय शिक्षा विधेयकमा निजी विद्यालयलाई रोक्न सकिने स्थिति नभएको बताएका छन् ।

निजी विद्यालयको भूमिकालाई अवमूल्यन गर्न नहुने बताउँदै उनले भने–‘उनीहरूको योगदान छ । अवमूल्यन गर्न मिल्दैन । रोक्न सक्ने स्थिति छैन ।’

सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्दै जाँदा निजी विद्यालय आफैं कम हुँदै जाने बताएका उनले भने–‘निजी लगानीको विषयमा विषयमा हेक्का राख्नुपर्ने छ । सामुदायिकको गुणस्तर सुधार भए निजी कम हुँदै जान्छ । ’

निजी विद्यालयलाई गुठिमा रुपान्तरण गर्न प्रेरित गर्नुपर्ने उनको भनाई थियो ।

समितिले भोलिसम्म विधेयक पारित गरेर प्रतिनिधिसभामा पठाउने तयारी गरेको छ ।