देशभर वर्षा, उच्च सतर्कता जरुरी
काठमाडौं - देशभर वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाले देशभर आंशिकदेखि सामान्य बदली भई मध्य र पश्चिमका केही स्थानहरुमा वर्षा भइरहेको जनाएको छ ।
आगामी २४ घण्टाका लागि मेघगर्जन र चट्याङसहित वर्षाका साथै मध्य र पश्चिमका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
यसको प्रभावले पहाडी भूभागमा पहिरो जान सक्ने, हवाइ तथा सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने साथै नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
शुक्रबार देशभरि आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका थोरै स्थानहरुमा मेघगर्जनसहित वर्षा हुने पूर्वानुमान गरिएको छ ।
त्यस्तै राति पनि पश्चिमी पहाडी भेगका एक दुई स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ भने चट्याङसमेत पर्न सक्नेछ ।
शनिबारसमेत मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरिएको छ । आइतबार पनि वर्षा हुने विभागले जनाएको छ ।
मनसुनी न्यून चापिय रेखा औसत स्थान आसपास अवस्थित रहेको र अति नै सक्रिय रहेको विभागले जनाएको छ । त्यस्तै उत्तर ओडिशा र पश्चिम बंगाल आसपास न्यून चापिय प्रणाली बनेको छ ।
फेसबुक पेज Like गर्नुहोस