चितवन -  टेलिभिज कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई प्रहरीले आजै जिल्ला अदालतमा हाजिर गराउने भएको छ । जिल्ला अदालत चितवनमा हाजिर गराई म्याद थप गरी उनीमाथि अनुसन्धान सुरू गरिने प्रहरीले जानकारी दिएको हो 

पत्रकार शालिकराम पुडासैनीले गत साउन २० गते नारायणगढको पोखरा बसपार्कस्थित होटलमा आत्महत्या गरेपछि उनलाई आत्महत्याको लागि दुरुत्साहन गरेको अभियोगमा प्रहरीले लामिछानेलाई बिहिबार साँझ पक्राउ गरेको थियो ।

प्रहरीले लामिछानेसहित अर्का पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई समेत पक्राउ गरेको छ । उनीहरु तीनै जनालाई काठमाडौँबाट पक्राउ गरी प्रहरीले कडा सुरक्षाका बीच मध्यरात १ बजे चितवन पुर्‍याएको थियो ।

पत्रकार पुडासैनी होटलमा झुन्डिएको अवस्थामा फेला परेका थिए । उनको साथबाट फेला परेका मोबाइलमा उनले भिडियो सन्देश छोडेको चर्चाका बीच उनले रुँदै परिवारसँग माफी मागेको भिडियो सार्वजनिक भएको थियो । भिडियोमा उनले रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीको नाम लिँदै आफुलाई आत्महत्या गर्न बाध्य तुल्याइएको बताएका थिए ।

प्रहरीका अनुसार उनीहरूलाई उपलब्ध स्रोत साधन दिएर हिरासतमा राखिएको छ । जिल्ला अदालतबाट म्याद थप गरी ल्याएपछि अनुसन्धान सुरु गरिने चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।