काभ्रे - नेत्र विक्रम चन्द विप्लव समुहका रामेछाप जिल्ला इन्चार्जसहित ३ जना पक्राउ परेका छन्। एनसेल टावरमा आगो लगाएको र बम पड्काएको आरोपमा रामेछाप जिल्ला इन्चार्ज यादव ढुंगेलसहित तीनजनालाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएको हो।

काभ्रेको धुलिखेल–५ स्थायी घर भएका ढुंगेल विप्लवका रामेछाप जिल्ला इन्चार्ज हुन्। ढुंगेललाई काभ्रेको भुम्लु गाँउपालिकाको एनसेल टावरमा आगजनी गरेको आरोप छ।

ईलाका प्रहरी कार्यालय बनेपाले शुक्रबार राति विप्लवका २ काभ्रे जिल्ला सदस्यलाई पनि पक्राउ गरेको छ। पनौती नगरपालिका(४ बाट विप्लवका सक्रिय जिल्ला सदस्य अनिल रायमाझी र सुन्दर रायमाझीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बनेपाले जानकारी दिएको छ ।

उनीहरुलाई नेपाल बन्दको क्रममा पनौती–७ खोपासीमा विष्फोटक पदार्थ राखेर आंतक सृजना गरेको आरोपमा पक्राउ गरेको प्रहरीले बताएको छ । पक्राउ परेका दुबैलाई जिल्ला अदालत काभ्रेबाट ७ दिनको म्याद थप गरेर अनुशन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।