आसामलाई हराउँदै नेपाल ‘ए’ले जित्यो टी-२० सिरिज
काठमाडौं - भारतको गुहाटीमा सम्पन्न पाँच खेलसम्मिलित टी-२० सिरिजमा नेपाल ‘ए’ले शानदार प्रदर्शन गर्दै आसाम क्रिकेट एशोसियसनलाई ३–२ ले पराजित गरेको छ।
सोमबार भएको निर्णायक पाँचौँ खेलमा नेपाल ‘ए’ले ४४ रनको फराकिलो जित निकाल्दै सिरिज आफ्नो पक्षमा पारेको हो।
अन्तिम खेलमा टस जितेर ब्याटिङ थालेको नेपाल ‘ए’ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०८ रनको विशाल योगफल तयार गर्यो।
नेपालका लागि सन्दीप जोराले ३९ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै सर्वाधिक ६४ रन जोडे । ओपनर इशान पाण्डेले ३२, शुभ कंसाकारले ४१, आदिल आलमले २५ तथा पवन सरार्फले ७ रनमा अविजित रहे।
विजयी लक्ष्य पछ्याउने क्रममा आसाम २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रनमै रोकियो। टोलीका लागि भारगव प्रितम लाहकरले अविजित २९ रनको योगदान दिए।
बलिङतर्फ नेपालका अकाश चन्द, शेर मल्ल र पवन सरार्फले २–२ विकेट हात पारे भने वसिर अहमद र आदिल आलमले १–१ विकेट लिए।
यसअघि सिरिजको पहिलो खेलमा नेपाल डीएल पद्धतिअनुसार १५ रनले पराजित भएको थियो। तर दोस्रो खेलमा ९६ रन, तेस्रो खेलमा ९ रनले जित निकाल्दै अग्रता बनाएको नेपाल चौथो खेल १८ रनले गुमाएको थियो ।
फेसबुक पेज Like गर्नुहोस