काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएपछि काठमाडौंमा मास्क लगाउनेको संख्या आधा घटेको बताएका छन् ।

मदन भण्डारी जन्मजयन्तीको अवसरमा शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारले धेरै राम्रो काम गरिरहेको जिकिर गरे । ‘एक वर्ष अघि र अहिले काठमाडौंको सडक हेर्नुस्,’ उनले भने, ‘म प्रधानमन्त्री हुँदा आधा जनसंख्या माक्स लगाएर हिड्थे, अहिले मास्क नै लगाउनु पर्दैन ।’

नेकपाका अध्यक्ष समेत रहेका ओलीले दशैंसम्म सरकारको आलोचना समाप्त हुने जिकिर गरे । उनले अहिले सरकार कानुन निर्माणमा व्यस्त भएकोले सरकारले गरेको राम्रो काम जनतालाई भन्न नभ्याएको बताए ।

नयाँ आर्थिक वर्षसँगै नयाँ गतिमा अगाडि बढ्ने स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले दशैंसम्म सरकारविरुद्ध हुने आलोचना समाप्त भएर जाने जिकिर गरे ।