काठमाडौं - मध्यपश्चिमाञ्चल विश्वविद्यालयले उपप्राध्यापक विश्वनाथ यादवलाई बर्खास्त गरेको छ । 

विद्यार्थीलाई आफूखुसी नम्बर दिएको आरोपमा विश्वविद्यालयले इन्जिनियरिङतर्फको स्नातकोत्तर कार्यक्रमका निर्देशकसमेत रहेका उपप्राध्यापक यादवलाई बर्खास्त गरेको हो । 

परीक्षामा भएको अनियमितताका विषयमा छानबिन गर्न गठित समितिले यादवलाई दोषी ठहराएपछि बर्खास्त गरिएको उपकुलपति प्रा।डा नन्दबहादुर सिंहले जानकारी दिए ।

यादवले विद्यार्थीको आन्तरिक मूल्याङ्कनतर्फ विषय शिक्षकले पठाएको नम्बर लुकाएर मनलाग्दी रुपमा नम्बर दिएको उजुरी परेको थियो। परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई पनि पास गराएको पाईएको छ । उजुरी परेपछि छानविन समिति बनाइएको थियो । सो छानबिन समितिले निर्देशक यादव आर्थिक प्रलोभनमा परी यस्तो काम गरेको निष्कर्षसहित दोषी भएको पुष्टि गरेको थियो ।

यादवले परीक्षामा अनियमितता गरेको भनेर गल्तीसमेत स्वीकारेकाले कारबाही गरिएको उपकुलपति सिंह बताउँछन् । आज पत्रकार सम्मेलन गरेर जानकारी दिने पनि उनले बताए ।