काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाले सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएका छन् ।

न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले सोमबार लामाविरुद्ध विशेष अदालतले गरेको दोषसिद्धिको फैसला उल्ट्याउँदै उनलाई निर्दोष ठहर गरेको हो ।

विशेष अदालतले उनलाई एक वर्ष कैद र जरिवानासहित दोषी ठहर गरेको थियो । तर सर्वोच्चको निर्णयले उनीमाथिको कानुनी कारवाही खारेज गरेको छ ।

लामाले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए भने, सरकार पक्षले पनि सजाय कम भएको भन्दै पुनरावेदन दर्ता गरेको थियो ।

सर्वोच्चले लामाको निवेदनमा दोषसिद्धि नपुग्ने ठहर गर्दै सफाइ दिएको हो भने सरकार पक्षको पुनरावेदन अस्वीकार गरेको छ । लामामाथि विगतमा ‘गुन्डागर्दीमार्फत करोडौं कमाएको’ आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो ।

उनी लामो समयदेखि विवादमा तानिँदै आएका थिए । पटक–पटक पक्राउ परेका लामा हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य छन् ।