रौतहट - रौतहट सदरमुकाममा आज बिहान सुटकेसभित्र फेला परेको युवतीको शवको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उक्त शव रौटहटको माधव नारायण नगरपालिका-२ महादेवपट्टी माइत भएकी २६ वर्षीया रुवीकुमारी साहको भएको अनुसन्धानका क्रममा खुलेको हो ।

रुवीको विवाह भारतको मजफरपुरमा भएको स्थानीयले बताएका छन् । उनी अहिले माइती घरमै बस्दै आएकी थिइन् । रौटहटको माधव नारायण नगरपालिका-२ महादेवपट्टीमा उनको माइती घर छ ।

गौर नगरपालिका-९ मा पर्ने गौर–सिरसिया सडकखण्डस्थित दिव्यज्योति स्कुलको गेट नजिकै गएराति नै स्थानीयले शंकास्पद अवस्थामा ठूलो सुटकेस देखेका थिए । तर प्रहरीले आज बिहान मात्रै सुटकेस खोलेर हेरेको हो ।

घाँटी कसेर युवतीको हत्यापछि शव सुटकेसमा राखिएको अनुमान प्रहरीले गरेको छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको छ। यता प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।