काठमाडौं - सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सूचना प्रविधि विधेयकबारे अनावश्यक हल्ला चलाएकोमा आपत्ति जनाएका छन् ।

बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा उनले सूचना प्रविधि विधेयकमा धेरै राम्रा प्रावधान हुँदाहुँदै पनि सत्यलाई ढाकछोप गरेर गलत प्रचार गरिएको बताएका हुन् ।

उनले भने, ‘कानुन सबैका लागि बराबर हो । विधेयकले सामाजिक सञ्‍जालमा लेखेवापत कारबाही गर्नेमात्र भनिएको छैन कि त्यसमा के लेख्‍यो त्यसका आधारमा कारबाही गर्ने भनिएको छ । यहाँ त सामाजिक सञ्‍जाल चलाउँदै सरकारले कारबाही गर्ने भन्‍ने हल्ला चलाएको छ ।’

मन्त्री बाँस्कोटाले सामाजिक सञ्‍जालमा लेख्‍नु अपराध नभएको पनि बताएका छन् । ‘सामाजिक सञ्‍जालमा लेख्‍नु अपराध होइन । धारा ८८ को उपधारा १ मा कस्ता कुराको  प्रचार गरेमा कारबाही हुन्छ भन्‍ने उल्लेख गरेको छ । सार्वभौमसत्ताविरुद्ध, जातिय विभेदलाई बढावा दिने कुरा लेखेमा कारबाही हुन्छ’ उनले भने । 

नेपालमा फेसबुक प्रयोगकर्ता ९० लाख र ट्वीटर प्रयोगकर्ता मात्रै ४० लाख रहेको बताउँदै मन्त्री बाँस्कोटाले यत्रो प्रयोगकर्ता भएको सामाजिक सञ्जालमा नेपालमा दर्ता भएरमात्रै सञ्चालन गरिनुपर्ने कानुन बनाइनु गलत नुहने तर्क गरे । अन्य मुलुकहरुमा पनि दर्ता गरेरमात्रै सञ्चालन गर्ने व्यवस्था रहेको र नेपालमा यही व्यवस्था गर्न खोजिएको उनको धारणा छ ।