प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरी शुक्रबार स्वदेश फर्कंदैछन् । प्रेस सल्लाहाकार डा कुन्दन अर्यालले सिङ्गापुरबाट थाइल्याण्ड हुँदै अपराह्न थाई एयरवेजबाट प्रधानमन्त्री ओली स्वदेश फर्कने जानकारी दिए ।
मिर्गौलासम्बन्धी एण्टिबडीको उपचारका लागि उनी भदौ ५ गते त्यसतर्फ गएका थिए । उनको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो । उपचारकै क्रममा प्रधानमन्त्रीले दुई पटक टेलिप्रिजेन्स प्रविधिमार्फत मन्त्रिपरिषद्का सदस्यसँग सरकारका कामको बारेमा छलफल गरेका थिए ।
प्रधानमन्त्रीको स्वास्थ्य स्थिति बुझ्न सिङ्गापुर पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य बामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडलले पनि उनीसँगै स्वदेश फर्कंदैछन् ।
प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत सहभागी छन् । प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा दिव्यासिंह शाह भने फर्किसकेका छन् । यसअघि पनि उनले सोही अस्पतालमा स्वास्थ्य परीक्षण गरी साउन २७ गते स्वदेश फर्किएका थिए ।
फेसबुक पेज Like गर्नुहोस