काठमाडौं - थाइल्याण्ड र कम्बोडियाका सरकारप्रमुखबीच मलेशियामा शान्तिवार्ता शुरु भएको छ ।

मलेशियाको राजधानी क्वालालम्पुरमा थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाई र कम्बोडियाका प्रधानमन्त्री हुन मनेटबीच वार्ता शुरु भएको हो ।

यस वार्ताको मध्यस्थता मलेशियाका प्रधानमन्त्री अनवर इब्राहिमले गरिरहेका छन् । उनकै निवासमा वार्ता भइरहेको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।

दक्षिणपूर्वी एशियाली मुलुकहरुको समूह आशियानको अध्यक्षका रुपमा मलेशियाका प्रधानमन्त्री मध्यस्थकर्ता बनेका हुन् । गत बिहीबार कम्बोडिया र थाइल्याण्डबीच द्वन्द्व शुरु भएको पाचौँ दिनमा दुबै मुलुकका नेताहरु वार्तामा जुटेका हुन् । दुबै मुलुकले एक अर्कामाथि द्वन्द्व शुरु गरेको आरोप लगाएका छन् ।

कम्बोडिया र थाइल्याण्डबीच सीमा क्षेत्रमा रहेको विवादित हिन्दू मन्दिरको विषयलाई लिएर यी दुई मुलुकबीच बेलाबेला तनाव उत्पन्न हुँदै आएको छ ।

द्वन्द्वका क्रममा हालसम्म दुबै पक्षका गरी ३५ जनाको ज्यान गएको र अरु २ लाख ६० हजारभन्दा धेरै घाइते भएका छन् । दुबै मुलुकले एक अर्को मुलुकबाट राजदूत फिर्ता बोलाएका छन् भने सीमा क्षेत्र बन्द गरिएको छ ।

क्वालालम्पुरमा दुई देशका नेताबीच वार्ता भइरहेपनि सीमा क्षेत्रमा दुबै देशका सुरक्षाकर्मीबीच लडाइँ भइरहेको छ ।

यसअघि गत शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै मुलुकलाई शान्ति वार्ताका लागि दबाब दिएका थिए । उनले दुई देशबीच द्वन्द्व कायम रहे त्यसले अमेरिकासँगको व्यापार सम्झौतामा असर पार्ने चेतावनी दिएका थिए ।

क्वालालम्पुरका लागि उड्नुअघि थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाईले यस वार्तामा अमेरिका र चीनका प्रतिनिधि पनि पर्यवेक्षकका रुपमा सहभागी हुने जानकारी दिएका थिए ।