ट्रम्प र पुटिनबीच आगामी शुक्रबार अलास्कामा भेट हुने
काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आगामी शुक्रबार अमेरिकाको अलास्कामा भेटवार्ता हुने भएको छ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत् यसबारे जानकारी दिएका छन्। ट्रम्पले यो भेट युक्रेन युद्ध अन्त्यका विषयमा केन्द्रित हुने बताएका छन्। युक्रेनले भने दुई नेताहरुबीचको भेटबारे केही प्रतिक्रिया जनाएको छैन।
ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘म र रुसी राष्ट्रपति पुटिनबीच बहुप्रतीक्षित बैठक आगामी शुक्रबार, १५ अगष्टमा ग्रेट स्टेट अलास्कामा हुनेछ।’ ट्रम्पको यो घोषणापछि रुसले पनि यसबारे सकारात्मक प्रतिक्रिया दिएको छ।
रुसी राष्ट्रपति पुटिनका सहयोगी कुटनीतिज्ञ युरी उशाकोभले अमेरिका र रुस नजिकका छिमेकी देशसमेत रहेको भन्दै दुई देशबीच अलास्कामा हुने शिखर सम्मेलन प्रभावकारी हुने बताए।
उशाकोभले अलास्कापछि अर्को शिखर सम्मेलन मस्कोमा हुन सक्ने बताए। यसका लागि निमन्त्रणा नै पठाइसकिएको उनको भनाइ छ। यसअघि सन् २०१३ अमेरिकी राष्ट्रपति बाराक ओबामाले रुस भ्रमण गरेका थिए।
फेसबुक पेज Like गर्नुहोस