प्रचण्डलाई भेट्न खुमलटार पुगिन् एमसिसी उपाध्यक्ष
काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)की उपाध्यक्ष फतिमा सुमार खुमलटार पुगेकी छन् ।
नेपालको भ्रमणमा रहेको उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डल शुक्रबार बिहान खुमलटारस्थित निवास पुगेको हो । हाल दुईपक्षबिच छलफल जारी रहेको स्रोतले बताएको छ । अध्यक्ष प्रचण्ड एमसिसी परिमार्जनसहित अनुमोदन गर्ने पक्षमा जोड दिँदै आएका छन् ।
बिहीबार काठमाडौं आइपुगेकाे उपाध्यक्ष सुमारसँगै नायब उपाध्यक्ष जोनाथन ब्रुक्सको टोलीले सबैभन्दा पहिलो भेट एमाले अध्यक्ष केपी शर्मा ओलीसँग र पछि नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग गरेको थियो ।
नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ ।
नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र एमसिसीबीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट)मा द्विपक्षीय सम्झौता भएपछि एमसिसीबाट यो तहमा पहिलोपटक भ्रमण भएको हो । यस भ्रमणलाई चासो र महत्वका साथ हेरिएको छ । सम्झौताअनुसार सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट रु ५० अर्ब सहयोग प्राप्त हुने छ ।
फेसबुक पेज Like गर्नुहोस