प्रदेश ३ : नाम र राजधानीको विषयमा शीर्ष तहमा छलफल हुने
काठमाडौं - प्रदेश राजधानी र नामका विषयमा प्रदेशसभा सदस्य विभाजित भएर पार्टीको हृवीप उल्लंघन गर्ने चेतावनी दिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश तीन कमिटीले शीर्ष नेतृत्वसँग छलफल गर्ने भएको छ । दुई अध्यक्षसँग अनुमति लिएर पार्टी निर्णय कार्यान्वयन गराउने तयारी प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य सहितका पदाधिकारीको छ ।
प्रदेशसभा संसदीय दल र प्रदेश कमिटी पदाधिकारी तथा नेकपा केन्द्रीय सदस्यहरु सम्मिलित संयुक्त बैठकमा नाम र राजधानीबारे पार्टी केन्द्रीय सचिवालयको निर्णय नमान्ने चेतावनी सांसदहरुले दिएका थिए । यसैबीच, प्रदेश ३ को नाम बाग्मती राख्न खोजेको भन्दै आज काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।
नेपाल कम्युनिस्ट पार्टीको सचिवालय समितिको बैठकले प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा राख्न प्रदेशसभालाई आग्रह गर्ने निर्णय गरेको विरोधमा प्रदर्शन भएको हो ।
विभिन्न जातीय संघसंस्थाले प्रदेश ३ को नाम नेवास् ताम्सालिङ राख्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् । आजदेखि प्रदेश ३ को प्रदेशसभा अधिवेशन सुरु भएकाले उनीहरुले प्रदर्शन गरेका हुन् ।
फेसबुक पेज Like गर्नुहोस