पतञ्जलि जग्गा प्रकरण : पूर्वप्रधानमन्त्री नेपाल अदालतमा उपस्थित हुँदै, आजै बयान सुरु हुने
काठमाडौं-पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा उपस्थित हुने भएका छन् ।
नेपाल निकट एक कानून व्यवसायीका अनुसार पतञ्जलि जग्गा प्रकरणमा आफू विरुद्धको मुद्दाको सिलसिलामा उनी उपस्थित हुन लागेका हुन् ।
स्रोतका अनुसार नेपालले ‘अदालत उपस्थित हुन पाउँ भन्ने निवेदन कानून व्यवसायीमार्फत दर्ता गराइसकेका छन् ।
त्यही निवेदनका आधारमा इजलासमा मुद्दाको पेसी तोकिन्छ र बयान शुरु हुन्छ । बयान सकिएलगत्तै थुनछेक बहस हुनेछ ।
पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध गत जेठ २२ गते विशेष अदालतमा मुद्दा दर्ता भएको थियो ।
पतञ्जलि योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो ।
तत्कालीन सरकारको निर्णयबाट हदबन्दी छुटमा पाएको जग्गा पछि मन्त्रिपरिषद्कै निर्णयबाट बिक्री गरेको भेटिएपछि अख्तियारले छानबिन थालेको थियो ।
भारतको पतञ्जलि योगपीठले काभ्रेमा आयुर्वेद शिक्षालयदेखि अस्पताल र जडीबुटी फार्म सञ्चालन गर्न २०६४ सालमा कम्पनी दर्ता गरेको थियो । हदबन्दीभित्रको जग्गाले नपुग्ने भएपछि उसले सरकारलाई हदबन्दी छुटमा जग्गा राख्ने अनुमति दिन आग्रह गरेको थियो ।
१८ माघ २०६६ मा माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलिलाई काभ्रेमा ८१५ रोपनी जग्गा किन्न छुट दिएको थियो । त्यतिबेला पतञ्जलिले करिब ६ सय रोपनी जग्गा किनेको थियो । कतिपय जग्गा त्यसभन्दा अघि नै खरिद भएको थियो । जग्गा किनेको केही महिनामा नै उसले जग्गा बेच्ने निर्णय गर्यो ।
कानुनतः हदबन्दी छुटको जग्गा बेच्न मिल्दैन, कम्पनी विघटन हुँदा सहुलियतको जग्गा स्वतः सरकारीकरण हुने कानुनी व्यवस्था छ । तर २०६६ सालमै तत्कालीन सरकारले जग्गा बिक्री गर्न अनुमति दिने निर्णय गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस