काठमाडौं - सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली कामदारका लागि न्यूनतम पारिश्रमिक १ हजार दिराम वा त्यसभन्दा माथि हुने निर्णय कार्यान्वयनमा ल्याएको छ ।

सोमबार राजपत्रमा प्रकाशित सूचना अनुसार अब म्यानपावर कम्पनीले तोकिएको भन्दा कम तलबमा यूएईमा कामदार पठाउन पाउने छैनन् ।

सरकारले गत जेठमा न्यूनतम पारिश्रमिक बढाउने निर्णय गरेको थियो । राजपत्रमा प्रकाशित भएसँगै उक्त निर्णय कार्यान्वयनमा आएको हो ।

अब १ हजार दिराम वा त्यसभन्दा कम सुविधामा आएको मागपत्र सरकारले प्रमाणीकरण गर्ने छैन ।

यसअघि, यूएईमा अदक्ष कामदारका हकमा न्यूनतम पारिश्रमिक ८ सय दिराम तोकिएको थियो ।

नयाँ तलबमान अनुसार अदक्ष कामदारका हकमा न्यूनतम पारिश्रमिक १ हजार दिराम, मासिक खाना खर्च ४ सय दिराम वा त्यसभन्दा माथि गरी कुल १ हजार ४ सय वा त्यसभन्दा माथि हुनुपर्ने छ ।

अर्धदक्ष कामदारका हकमा १ हजार २ सय वा त्यसभन्दा माथि पारिश्रमिक, खाना खर्च ४ सय दिराम गरी कुल १ हजार ६ सय वा त्यसभन्दा माथि हुने गरी तोकिएको छ ।