लिटिल वड स्कुलको २८औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न, विद्यार्थीहरूको मार्मिक प्रस्तुतिले अभिभावकहरू भावुक
काठमाडौं - काठमाडौंको जोरपाटीस्थित अत्तरखेलमा अवस्थित लिटिल वड सेकेन्डरी स्कुलले आफ्नो २८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस–२०८१ भव्य रूपमा मनाएको छ। शनिबार सम्पन्न समारोहमा विद्यार्थीहरूले प्रस्तुत गरेका सन्देशमूलक तथा भावनात्मक प्रस्तुतिहरूले अभिभावकहरूको ध्यान खिचेको थियो।
विद्यालय सञ्चालक समितिका अध्यक्ष पदमध्वज कार्कीको सभापतित्वमा आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक कुमार रिसाल प्रमुख अतिथि रहेका थिए। यस्तै, नगर उपप्रमुख सान्नानी लामा, प्याव्सन काठमाडौंका जिल्ला अध्यक्ष नवराज भट्ट, वरिष्ठ उपाध्यक्ष सुदर्शन थापा, निसान अध्यक्ष सौर्यनाथ आचार्य, महासचिव नवराज सापकोटा, विद्यालयका अभिभावक तथा अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूले नेपाली सांस्कृतिक विविधता झल्काउने ३८ वटा मनोरञ्जनात्मक तथा सन्देशमूलक प्रस्तुति दिएका थिए, जसले दर्शकहरूलाई भावुक बनायो। कतिपय प्रस्तुतिबाट अभिभावकहरूको आँखा रसाए भने, कतिपय मनोरञ्जनात्मक प्रस्तुति देख्दा उनीहरूका ओठमा हाँसो छाएको थियो।
विद्यालयका प्रिन्सिपल अरुण कुमार कँडेलले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए भने अध्यक्ष पदमध्वज कार्कीले औपचारिक कार्यक्रम समापन गरेका थिए। कार्यक्रमलाई लाइफ ओके टेलिभिजन र विद्यालयको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको थियो।
विद्यालयमा कार्यरत ४९ जना शिक्षक, शिक्षिका तथा कर्मचारीलाई सम्मान गरिएको कार्यक्रमले विद्यार्थीहरूको सिर्जनात्मकता, विद्यालयको उत्कृष्ट व्यवस्थापन, र अभिभावकहरूको उच्च सहभागिता देखाएको थियो।
कार्यक्रमका केही दृश्यहरू
फेसबुक पेज Like गर्नुहोस