काठमाडौं - काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा अवस्थित कागेश्वरी मनोहरा नगरपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा ऐतिहासिक उपलब्धि हात पारेको छ। नगरपालिकाले यसपालि ८३.७५ अंक प्राप्त गर्दै हालसम्मकै उच्च प्रगति हासिल गरेको हो।

यसअघि निरन्तर सुधार गर्दै आएको नगरपालिकाले गत वर्षहरूमा आ.व. २०७६/०७७ मा ६८ अंक, २०७७/०७८ मा ७१.५ अंक, २०७८/०७९ मा ६१.५ अंक र २०७९/०८० मा ६७.२५ अंक मात्र हासिल गरेको थियो। तर यसपटक उल्लेखनीय उछाल मार्दै ८३.७५ अंकमा उक्लन सफल भएको छ।

यो उपलब्धिलाई नेपाली काँग्रेसबाट निर्वाचित नगरप्रमुख उपेन्द्र कार्कीको गतिशील नेतृत्व, दुरदर्शिता र सुधारमुखी सोचको परिणामका रूपमा लिइएको छ। नगरप्रमुख कार्कीले आफ्नो कार्यकालभरि संस्थागत क्षमता अभिवृद्धि, पारदर्शिता, सहज र प्रभावकारी सेवा प्रवाह, तथा दिगो स्थानीय शासनलाई प्राथमिकता दिँदै आएका छन्। साथै, उनी हाल नगरपालिका संघ बागमती प्रदेश संयोजकको जिम्मेवारी पनि सम्हाल्दै सम्पूर्ण स्थानीय तहको सामूहिक सशक्तीकरणमा सक्रिय भूमिका खेलिरहेका छन्।

नगरप्रमुख कार्कीले यो उपलब्धि व्यक्तिगत नभई सम्पूर्ण नगरवासी, कर्मचारी र नगरपालिकाप्रति देखाइएको विश्वासको जित भएको उल्लेख गर्दै भने, “पारदर्शिता, सुशासन र नतिजामुखी नेतृत्वप्रतिको हाम्रो प्रतिबद्धतालाई यो अंकले प्रमाणित गरेको छ। अबको यात्रामा अझ मजबुत, जिम्मेवार र नागरिकमैत्री नगरपालिका निर्माण नै हाम्रो प्रमुख लक्ष्य हुनेछ।”