काठमाडौं - गोंगबुमा श्रीमतीको हत्या गरी बक्स पलङमा लुकाएर भारत भाग्न लागेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका–२ भंगालका २८ वर्षीय सन्तोष सेन्चुरी छन् । सेञ्चुरीको स्थायी घर भने काभ्रेको भुम्लु रहेको खुलेको छ ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पर्साको वीरगञ्जबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्सासँग समन्वय गरेर वीरगञ्जबाट पक्राउ गरी सेन्चुरीलाई काठमाडौं ल्याइएको छ । प्रहरीका अनुसार उनी भारत भाग्न लागेका थिए ।उनलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्जमा बुझाइएको छ ।

साउन ३० गते राति गोंगबु मित्रनगरस्थित भीममाया लिंखाले सञ्चालन गरेको कोशी होटल एन्ड लजको कोठा नम्बर २०१ मा एक महिलाको शव भेटिएको थियो । मृत महिला २७ वर्षीया ललिता बिक रहेको खुलेको थियो । प्रहरीका अनुसार ललिता सन्तोषको श्रीमती हुन् ।

२८ साउनमा ललिताका भाइ मोतिरामले आफ्नी दिदी हराएको भन्दै प्रहरी वृत्त महाराजगञ्जमा निवेदन दिएका थिए । त्यसपछि महाराजगञ्ज वृत्तले श्रीमान् सन्तोषलाई बोलाएर सोधपुछ समेत गरेको थियो । श्रीमान सन्तोषसहित परिवारका सदस्यले ललिताले काम गर्ने गार्मेन्टमा खोज्न समेत गएका थिए । तर, ललिताको अवस्था पत्ता लागेको थिएन ।

हराएको भनिएको तीन दिनपछि होटलको कोठामा गन्ध आएको भन्दै साउन ३० गते होटल सञ्चालक भीममाया लिंखाले प्रहरीलाई खबर गरेकी थिइन् ।

प्रहरी गएर कोठामा हेर्दा बक्स पलङभित्र लुकाएको अवस्थामा शव भेटिएको थियो । मुखमा कपडा कोचिएको अवस्थामा बक्स पलङभित्र महिलाको शव भेटिएपछि हत्या भएको निष्कर्ष निकाल्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

प्रहरीका अनुसार सन्तोष ललिताबीचको सम्बन्धमाम खटपट आएपछि दुवै जना सम्बन्ध बिच्छेद गरेर आफूखुसी बस्ने भन्दै सहमति गरे थिए । सोही क्रममा यसैको अन्तिम छलफल गर्न भन्दै सन्तोषले श्रीमतीलाई २७ साउनमा उक्त होटलमा बोलाएको प्रहरीको भनाई छ ।

२७ साउनको दिउँसो उक्त होटलमा छिरेका उनीहरू दिउँसो ४ बजेतिर भने सन्तोष एक्लै उक्त होटलबाट बाहिरिएको सीसीटिभी फुटेजमा समेत देखिएको छ । २९ गते प्रहरीले बोलाएपछि महाराजगञ्ज गएका सन्तोष त्यसपछि भने मोबाइल अफ गरेर फरार भएका थिए ।

वीरगञ्जबाट पक्राउ परेका सन्तोषले श्रीमतीसँग विवाद भएकाले घाँटी थिचेर हत्या गरी शव लुकाएर साथीको कोठामा गएर बसेको र एक पटक प्रहरी कार्यालयमा पुगेपछि फरार भएको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।