काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन् । उनीहरुले संसद्को आयू पूर्ण बनाउन र संविधान जोगाउन देउवालाई मत दिने स्पष्ट पारेका हुन् । 

‘हामीले रिट निवेदनमा नै संसद्को आयू पूर्ण भनेका छौँ, त्यो अध्याय सकिएको छैन । हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ ।’ नेपाल पक्षका सांसद विरोध खतिवडाले भने । उनले यसबारे निर्णय गरिरहनुनपर्ने बताए । 

यस्तै, सांसद मेटमणि चौधरीले पनि देउवालाई मत दिने बताए । ‘हामीले प्रधानमन्त्रीलाई मत दिन्छौँ । संविधान र विधि जोगाउन देउवालाई मत दिनैपर्छ ।’ चौधरीले भने । 

आज दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा देउवालाई विश्वासको मत लिने तयारी छ । त्यसका लागि सो प्रस्ताव सचिवालयमा दर्ता भैसकेको छ । देउवा सरकार जोगाउन नेपाल पक्षको मत आवश्यक पर्छ ।