प्रधानमन्त्री बालेनसँग छलफल गर्न ईयूका कूटनीतिज्ञहरू सिंहदरबारमा
काठमाडौं - युरोपेली संघ (ईयू)मा आबद्ध विभिन्न देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरू प्रधानमन्त्रीसँग छलफलका लागि सिंहदरबार पुगेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार ईयूआवद्ध देशका राजदूत तथा मिसन प्रमुखहरूलाई सामूहिक छलफलका लागि बोलाएका हुन्।
प्रतिनिधिमण्डलमा अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रीस, इटाली, लिथुआनिया, लक्जेम्बर्ग, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन र स्विडेनका कूटनीतिक प्रतिनिधिहरू सहभागी छन्।
औपचारिक भ्रमणका क्रममा नेपाल आइपुगेको उक्त टोलीले भ्रमण कार्यक्रमअन्तर्गत मंगलबार प्रधानमन्त्री शाहसँग सामूहिक भेट गर्न लागेको हो।
व्यापार, लगानी, जलवायु परिवर्तन र बहुपक्षीय सहकार्यका क्षेत्रमा नयाँ अवसर पहिचान गर्दै नेपालसँग मिलेर दिगो, समावेशी र समृद्ध भविष्य निर्माणमा अघि बढ्ने ईयूको तयारी छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने सामूहिक भेटका अवसरमा सोहि विषयहरुलाई समेटेर नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ।
यसअघि पनि प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँग यस्तै प्रकारको सामूहिक छलफल गरिसकेका थिए ।
ईयू प्रतिनिधिमण्डलसँगको यो सामूहिक भेटलाई विशेष कूटनीतिक महत्त्वको रूपमा हेरिएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस