काठमाडौं, एजेन्सी - राजस्थान रोयल्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटबाट बाहिरिएको छ ।

गएराति भएको खेलमा कोलकाता नाइट राइडर्ससँग ६० रनले पराजित भएपछि राजस्थान आईपीएलको प्ले अफ होडबाट बाहिरिएको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा कोलकाताले दिएको १ सय ९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३१ रन मात्र बनाउन सक्यो ।

राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ३५ रन बनाए । राहुल टेवाटियाले ३१ रन जोड्दा बेन स्टोक्सले १८ रन बनाए ।

राजस्थानलाई सस्तैमा रोक्न कोलकाताका पाट कुमिन्सले ४ विकेट लिए । वरुण चक्रवर्ती र शिबम माभीले २/२ विकेट लिए । यस अघि ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।

कोलकाताको फराकिलो स्कोरमा कप्तान इयान मोर्गनले अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै राहुल त्रिपाठीले ३९ रन जोड्दा सुबमन गिलले ३६ रन बनाए । आन्द्रे रसेलले २५ रन बनाउँदा पाट कुमिन्सले १५ रन बनाए ।

राजस्थानका राहुल टेवाटियाले ३ विकेट लिए । कार्तिक त्यागीले २ तथा जोफ्रा आर्चर, श्रेयस गोपालले १/१ विकेट लिए । जितसँगै कोलकाताले १४ खेलमा १४ अंक जोडेको छ । र, कोलकाताले प्ले अफ पुग्ने सम्भावना कायम राखेको छ ।

कोलकाता तालिकाको चौंथो स्थानमा समेत उक्लिएको छ । तर, कोलकाताको प्ले अफ यात्रा भने अरुको खेलमा निर्भर हुनेछ । राजस्थानले भने १४ खेलमा १२ अंक जोडेर सिजनको अन्त्य गरेको छ ।