लुम्बिनीका मुख्यमन्त्रीले पुनः विश्वासको मत लिने
बुटवल - लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले ११ वैशाखमा दोस्रोपटक विश्वासको मत लिने भएका छन् ।
विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक ११ गते बिहान ११ बजे आयोजना गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले बताए । गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका गिरीले माघ ५ गते पहिलोपटक विश्वासको मत लिएका थिए ।
राष्ट्रपतिको चुनावसंगै केन्द्रमा बदलिएको सत्ता समीकरण अनुसार माओवादी केन्द्रलगायतका दलले चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत लिन लागेका हुन् ।
लुम्बिनीमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहित प्रदेश सभाका १० दलमध्ये ८ दल र एक जना स्वतन्त्र समेत ५३ सांसदले कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन् ।
फेसबुक पेज Like गर्नुहोस