चितवन - विपद्को मौका छोपेर लुटपाट तथा अमानवीय गतिविधि गर्ने व्यक्तिमाथि चितवन प्रहरीले निगरानी बढाउँदै तत्काल पक्राउ गर्ने नीति अघि बढाएको छ।

बुधबार तिब्बतर्फबाट पहिरोसहित भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्दै गरेको भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान गरी दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१, लीला चोकस्थित मामाघरमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको चादँबेला नगरपालिका–५ घर भई हाल भरतपुर महानगरपालिका–२, पोखरा बसपार्कस्थित सुपारी टोलमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरी रहेका छन्।

शवबाट कानको मुन्द्रा निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चितवन प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भिडियोको प्राविधिक तथा स्थलगत अनुसन्धानका क्रममा घटनामा संलग्न देखिएका दुई जनालाई भदौ ११ गते भरतपुर महानगरपालिका–१, पोखरा बसपार्कनजिकबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ।

चितवन प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलले विपद्को समयमा पीडित तथा मृतकप्रति गरिने लुटपाट वा कुनै पनि अमानवीय व्यवहार सह्य नहुने बताएका छन्। यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि तत्काल अनुसन्धान गरी कानुनी दायरामा ल्याइने उनको भनाइ छ।

यसअघि केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले पनि शवबाट सुन लुटिएको, बाढीले बगाएका ग्यास सिलिन्डर खोसाखोस गर्ने र गैरकानुनी गतिविधिमा संलग्नमाथि कानुनबमोजिम कारबाही गरिने बताएका थिए।

भोटेकोशी बाढीपछि नारायणी तथा त्रिशूली नदी किनारमा भेटिएका शवको व्यवस्थापन र पहिचानको काम भइरहेका बेला मृतकको शरीरबाट गरगहना निकाल्ने घटनाले पीडित परिवारमा थप पीडा सिर्जना गर्ने भन्दै प्रहरीले यस्ता गतिविधिमाथि कडाइ गरेको जनाएको छ।

साथै, प्रहरीले विपद्का समयमा लुटपाट, चोरी वा अन्य अमानवीय गतिविधि भएको जानकारी तथा प्रमाण भेटिए तत्काल प्रहरीलाई खबर गर्न समेत आग्रह गरेको छ।