काठमाडौं - रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई तीव्र पारिएको छ । 

प्रधानमन्त्री कार्यालयका अनुसार विपद् प्रभावित क्षेत्रमा १३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन भएका छन् । उद्धार तथा राहत कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरी बल नेपालका १ हजार ८४५ जना सुरक्षाकर्मी प्रत्यक्ष रूपमा खटिएका छन्।

बाढीका कारण सडक सञ्जाल अवरुद्ध भएपछि उद्धार टोलीले हवाई तथा पैदल मार्गबाट उद्धार अभियान सञ्चालन गरिरहेका छन्। विशेषगरी स्थलमार्गबाट पुग्न कठिन तथा जोखिमपूर्ण क्षेत्रमा हवाई उद्धारलाई प्राथमिकता दिइएको छ।

नेपाली सेना तथा निजी हवाई कम्पनीका हेलिकप्टरले हालसम्म ६९ पटक उडान भरी बाढीका कारण जोखिमपूर्ण अवस्थामा फसेका ३५१ जना नागरिकको उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएका छन्।

प्रतिकूल मौसम, अवरुद्ध सडक तथा नदीको तीव्र बहावका बाबजुद सुरक्षाकर्मीले जोखिम मोलेर उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिएका छन्। प्रभावित क्षेत्रमा उद्धारसँगै तत्काल आवश्यक राहत सामग्री वितरणको कामसमेत अघि बढाइएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार स्थानीय प्रशासन, सुरक्षा निकाय तथा उद्धार टोलीले अझै पहुँच पुग्न बाँकी क्षेत्रलाई प्राथमिकतामा राखेर खोजी, उद्धार र राहत वितरणलाई थप व्यापक बनाउँदै लगेका छन्। जोखिममा रहेका नागरिकको सुरक्षित स्थानान्तरण तथा प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने कामलाई तीव्रता दिइएको छ।