काठमाडौं - आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटका ४१ मध्ये १५ खेल नेपालमा हुने भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार काठमाडौंस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा प्रतियोगिताका खेल सञ्चालन हुनेछन्। बाँकी खेल बंगलादेशमा हुनेछन् ।

आगामी जनवरी २७ देखि फेब्रुअरी ६ सम्म आयोजना हुने प्रतियोगितामा नेपाल, भारत, आयरल्यान्ड र वेस्ट इन्डिज एउटै समूहमा परेका छन्।

नेपालले विश्वकपको सह–आयोजना गर्न पाउनुलाई नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण अवसरका रूपमा लिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

क्यानले प्रतियोगिताले नेपाली खेलाडीको प्रतिभा, जोस र क्रिकेटप्रतिको लगावलाई विश्वसामु प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उल्लेख गरेको छ।

‘नेपालले आफ्नै भूमिमा यो भव्य प्रतियोगिताको सह–आयोजना गर्दैछ, जुन गर्वको विषय हो। यो हाम्रो प्रतिभा, जोस र क्रिकेटप्रतिको प्रेमलाई विश्वसामु प्रदर्शन गर्ने एक ऐतिहासिक अवसर हो,’ क्यानले भनेको छ।