काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडले जित हात पारेको छ । गएराति भएको खेलमा वेस्ट ह्यामले वल्भ्समाथि उसकै मैदानमा ३–२ को जित निकालेको हो ।

खेलको छैटौं मिनेटमा जेसे लिङ्गार्डले गोल गर्दै वेस्ट ह्यामलाई सुरुवाती अग्रता दिलाए । १४औं मिनेटमा पाब्लो फोर्नाल्सले गोल गर्दै वेस्ट ह्यामको अग्रता दोब्बर पारे । ३८औं मिनेटमा जारोड वोवेनले गोल गर्दै वेस्ट ह्यामलाई ३०को अग्रता दिलाए । तर,  त्यसपछि ४४औं मिनेटमा लिन्डर डेन्डनकरले गोल गर्दै वल्भ्सलाई खेलमा फर्काउने कोसिस गरे । ६८औं मिनेटमा पाब्लो सिल्भाले गोल गर्दै वल्भ्सलाई ३२को अवस्थामा ल्याएपनि वेस्ट ह्याम विजयी बन्यो । 

जितसँगै शीर्ष चारमा उक्लिएको वेस्ट ह्यामले ३० खेलबाट ५२ अंक जोडेर छ । पराजित वल्भ्स ३५ अंक जोडेर १४औं स्थानमा छ ।

यस्तै, अर्को खेलमा एभर्टनले क्रिस्टल प्यालेससँग १-१ गोलको बराबरी खेलेको छ । बराबरीसँगै एभर्टनले २९ खेलमा ४७ अंक जोडेर लिगको आठौं स्थानमा छ । क्रिस्टल ३० खेलमा ३८ अंक जोडेर १२ औं स्थानमा छ ।