काठमाडौं - नेकपा एमालेको माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । वुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा सो समूहको बैठक सुरु भएको हो ।बैठकमा सहभागी हुनका लागि देशभरबाट माधव नेपाल पक्षीय केन्द्रीय कमिटीका नेताहरु आएका छन् ।

केन्द्रीय कमिटी बैठकअघि सोही स्थानमा सो समूहको स्थायी कमिटी बैठक बसेको थियो । सो बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको बताइएको छ ।

नेपाल पक्षको अवको रणनीति तय गर्नको लागि स्थायी तथा केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । नेपाल पक्षका २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई साउन ३ मा विश्वासको मत दिएका थिए । विपक्षी गठबन्धनमा पनि सहभागी भइरहेको माधव नेपाल समूहले सरकारमा सहभागी हुने वा पार्टी एकताको लागि अघि बढ्ने भन्नेबारे निर्णय लिन सकेको छैन । यसबारेमा बैठकमा छलफल तथा निर्णय हुने बताइएको छ ।

प्रधानमन्त्री देउवा तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले माधव नेपाल पक्षलाई सरकारमा सहभागी गराउन अधिकतम प्रयास गरिरहेको छ । सोही कारण मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।