काठमाडौं,एजेन्सी - प्रिमियर लिग क्लब एभर्टन एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा एभर्टनले टोटेनहमलाई अतिरिक्त समयमा ५-४ ले पराजित गरेको हो ।

खेलको सुरुवाती अग्रता भने टोटेनहमले लिएको थियो । तेस्रो मिनेटमा नै डाभिन्सन साञ्चेजले गोल गरेका थिए । ३६औं मिनेटमा डोमिनिक काल्भर्ट लेविनले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि ३८औं मिनेटमा रिचार्लीसनले गोल गर्दै एभर्टनलाई अग्रता दिलाए । ४३औं मिनेटमा गिल्फी सिगुर्डसनले पेनाल्टीमार्फत गोल गरेपछि एभर्टनले खेलमा ३–१ को अग्रता लियो ।

त्यसपछि ४५औं मिनेटमा इरिक लमेलाले गोल गर्दै टोटेनहमलाई खेलमा फर्काउन कोसिस गरे । ५७औं मिनेटमा डाभिन्सनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई खेलमा फर्काए । तर, ६८औं मिनेटमा रिचार्लीसनले व्यक्तिगता दोस्रो गर्दै एभर्टनलाई पुनः अग्रता दिलाए । ८३औं मिनेटमा टोटेनहमका ह्यारी केनले पनि गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलियो । त्यसपछि ९७औं मिनेटमा बर्नाडले गोल गर्दै एभर्टनलाई ५–४ को जित दिलाए ।

यस्तै, अर्को खेलमा म्यानचेस्टर सिटीले स्वान्सी सिटीमाथि ३–१ को जित निकाल्दै अन्तिम आठको यात्रा तय गरेको छ । यससँगै सिटीले सबै प्रतियोगितामा गरि लगातार १५ खेलमा जित निकाल्ने टोलीको कीर्तिमान बनाएको छ ।