काठमाडौं - अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रका बीमितको बीमा दाबी छिटो र सहज रूपमा भुक्तानी गर्न निर्देशन दिएका छन् ।
अर्थ मन्त्रालयमा नेपाल बीमा प्राधिकरणले आयोजना गरेको छलफलमा अर्थमन्त्री वाग्लेले बाढीपीडितलाई राहत पुग्ने गरी बीमा कम्पनीहरूले दाबी भुक्तानीलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।
उनले दाबी भुक्तानीका क्रममा देखिने समस्या समाधानका लागि सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए । बाढीका कारण ठूलो जनधनको क्षति भएकाले अहिले सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
नेपाल बीमा प्राधिकरणका अनुसार भदौ १५ गतेसम्म बाढीका कारण ५८३ वटा बीमा दाबी परेको छ । ती दाबीको अनुमानित रकम २५ अर्ब ८७ करोड रुपैयाँ रहेको छ ।
छलफलले साना रकमका बीमा दाबी तत्काल भुक्तानी गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । कागजी प्रक्रियाका कारण दाबी भुक्तानीमा ढिलाइ नहोस् भनेर आवश्यक प्रक्रिया सरलीकरण गरिने भएको छ ।

.gif)



