एजेन्सी - मंगलबार ठुलो तामझामका साथ पतञ्जलिको तर्फबाट कोरोनाको औषधिको लन्च गरिएको थियो । तर, औषधि लन्च भएसँगै पतञ्जलीलाई नमिठो झट्का लागेको छ । भारतको आयुष मन्त्रालयले पतञ्जलीले सार्वजनिक गरेको औषधिमा रोक लगाएको छ । 

वैज्ञानिक अध्ययनको दाबीको सत्यता र विवरणको बारे अनुसन्धान हुने र मन्त्रालयलाई उक्त औषधिबारे ठोस प्रमाण र पुष्टि गर्ने आधार हालसम्म नमिलेको बताइएको छ । 

मिडिया रिपोर्टका अनुसार कोरोनाको पहिलो आयुर्वेदिक औषधि बनाएको पतञ्जली भने सरकारको निर्णयलाई लिएर आश्चर्यचकित परेको छ । 

उता मन्त्रालयले उक्त औषधिको विज्ञापन निषेध गरेको छ । त्यस्ता विज्ञापनहरू ड्रग र जादू उपचार (आपत्तिजनक विज्ञापन) ऐन, १९५४ अन्तर्गत रहेको बताइएको छ ।

आचार्य बालकृष्णले भने क्लिनिकल परीक्षणमा सफलता पाएपछिमात्रै औषधि सार्वजनिक गरेको बताएका छन् । उनका अनुसार कोरोनिल औषधि प्रयोग गरेको ५ देखि १४ दिनमा बिरामी निको हुन्छन् ।