काठमाडौं - नेपाली कांग्रेसको वडा अधिवेशनलगायत राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले देशभरका शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ ।

मन्त्रालयको विद्यालय शिक्षा शाखाले मंगलबार ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गर्दै राजनीतिक गतिविधिमा संलग्न शिक्षक तथा कर्मचारीमाथि निगरानी बढाई कानुनबमोजिम कारबाही गर्न निर्देशन दिएको हो ।

शाखाका उपसचिव लिलानाथ पोख्रेलले पठाएको पत्रमा बैतडी, बागलुङ, सिन्धुली, सिन्धुपाल्चोक, मुगु, रौतहट र सल्यानलगायत जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक राजनीतिक दलका कार्यक्रममा सहभागी भएको पाइएको उल्लेख छ ।