काठमाडौं - संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका प्रधानमन्त्री बालेन्द्र शाहलाई गृहमन्त्री र पर्यटनमन्त्रीले बिदाइ गरेका छन् ।

गृहमन्त्री सुधन गुरुङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस)ले प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरेका हुन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साँझ ७ बजे कतारको दोहा हुँदै न्युयोर्कतर्फ प्रस्थान गरे ।

प्रधानमन्त्रीलाई कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत र वरिष्ठ अधिकारीहरूले स्वागत गर्ने सचिवालयले जनाएको छ। उनी दोहाबाट बुधबार न्युयोर्कतर्फ प्रस्थान गर्नेछन्।

शाहलाई न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायतका अधिकारीहरूले स्वागत गर्ने छन्।

सोही दिन उनी संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा पुग्ने छन्। त्यहाँ उनलाई भ्रमणका विषयमा परराष्ट्र सचिव, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्यूयोर्कस्थित नेपालका महावाणिज्यदूतले क्रमशः ब्रिफिङ गर्ने छन्।

ब्रिफिङ लगत्तै शाह नेपालका लागि स्थायी प्रतिनिधिहरुले आयोजना गर्ने समारोहमा सरिक हुने कार्यक्रम छ। असोज ८ गते प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता हुनेछ।

त्यसलगत्तै प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्ने छन्। प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।