हिन्दूराष्ट्र पुनर्स्थापना र संघीयता खारेजीका लागि राप्रपाले आन्दोलन गर्ने
काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हिन्दूराष्ट्र पुनर्स्थापना र संघीयता खारेजीका लागि वृहत आन्दोलन गर्ने राप्रपाको निर्णय गरेको छ । मंगलवार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले आन्दोलनमा उत्रिने निर्णय लिएको हो ।
तीन दिनसम्म काठमाडौंमा चलेको बैठकले विभिन्न १३ बुँदे निर्णयसहित अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आन्दोलनमा जाने निर्णय गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । आन्दोलनसँगै राप्रपाले विभिन्न जनजीविकाका मुद्दा पनि उठाउने छ ।
‘राजसंस्था, सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दूराष्ट्र पुनर्स्थापना र प्रदेश तहको खारेजीका लागि आन्दोलन गरिने निर्णय भएको छ,’ बैठकपछि प्रवक्ता श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
आन्दोलनको तयारीका लागि पुष र माघमा देशैभर व्यापक सभा तथा तयारीका काम हुने तथा फागुनमा मेची–महाकाली एकता यात्रा र उपत्यकाकेन्द्रित प्रदर्शन गर्ने निर्णय राप्रपाले गरेको छ । आन्दोलनका लागि पार्टी अध्यक्ष लिङ्देनको अध्यक्षतामा केन्द्रीय आन्दोलन मूल समिति पनि गठन गरिएको छ ।
यस्तै पार्टीका संगठन विभाग प्रमुख एवं महामन्त्री डा धवलशमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समितिसमेत गठन गरिएको छ । यसैगरी पार्टीका कोषाध्यक्ष नीलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक परिचालन समिति गठन भएको भने प्रवक्ता श्रेष्ठको नेतृत्वमा प्रचार तथा प्रसार समिति गठन भएको छ ।
फेसबुक पेज Like गर्नुहोस