काठमाडौं - सरकारले हिमताल विस्फोटबाट हुने जोखिम न्यूनीकरण गर्न चार उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउने भएको छ।

त्यसैगरी, बाढीबाट हुने जनधनको क्षति कम गर्न ६ प्रमुख नदी बेसिनमा पूर्वसूचना प्रणाली विस्तार गरिने भएको छ।

ऊर्जा मन्त्रालयले जल तथा मौसम क्षेत्रको सुदृढीकरण, जलस्रोतको दिगो उपयोग र विपद् जोखिम न्यूनीकरणसम्बन्धी दुईवटा श्वेतपत्र सार्वजनिक गर्दै यस्तो योजना अघि सारेको हो।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम बढ्दै गएको, हिमनदी पग्लिने क्रम तीव्र भएको र हिमताल विस्फोटको जोखिम बढेको अवस्थामा सरकारले जोखिम न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ।

सरकारले ग्लोफ सञ्जीवनी आयोजनामार्फत चारवटा उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउने योजना बनाएको छ।

यसअन्तर्गत मनाङको ठुलागी, सङ्खुवासभाको लोअर अरुण तथा सोलुखुम्बुका लुम्दिङ छो र होंगु–२ हिमतालमा जोखिम न्यूनीकरणका उपाय अपनाइनेछ।

सन् २०२६ देखि २०३३ सम्म सञ्चालन गर्ने प्रस्ताव गरिएको आयोजनाको कुल बजेट ४९।९ मिलियन अमेरिकी डलर रहेको छ।

यसअघि दोलखाको छो–रोल्पा र सोलुखुम्बुको इम्जा हिमतालको पानीको सतह घटाएर जोखिम न्यूनीकरण गरिएको अनुभवका आधारमा थप हिमतालमा कार्यक्रम अघि बढाउन लागिएको हो।

हिमताल विस्फोट भएमा नदी तटीय बस्ती, पूर्वाधार र जलविद्युत् आयोजनामा ठूलो क्षति पुग्न सक्ने भएकाले पानीको सतह घटाउने र निगरानी प्रणालीलाई प्रभावकारी बनाउने कार्यक्रमले जोखिम कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।