प्रदेश–२ को स्थायी राजधानी र नामाकरणका लागि आज मतदान हुँदै
काठमाडौं - प्रदेश–२ को स्थायी राजधानी र नामाकरणको लागि आज प्रदेशसभामा मतदान हुँदैछ ।
प्रदेशको नामाकरणमा दलहरुबिच सहमती हुन नसकेपछि मतदानबाट टुंगो लगाइँदै छ । प्रदेश सभाको बैठक अहिले ८ बजे प्रदेशसभाको बोलाइएको छ ।
प्रदेशसभाका सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि सभामुखले रुलिंग गरेका छन् ।विभिन्न दलका प्रतिनिधि सम्मिलित समितिले जनकपुरधामलाई स्थायी राजधानी तोक्न सर्वसम्मतले निर्णय गरे पनि नामाकरणमा भने सहमति जुट्न सकेको छैन ।
प्रदेशको नामकरणको लागि सत्तापक्ष पार्टी समाजवादी र राजपा नेपालले ‘मधेश प्रदेश, प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ‘जानकी’ र प्रतिपक्षी दल नेपाली कांग्रेसले ‘मिथिला’प्रस्ताव गरेका छन् ।
तर पछि गएर समितिको बैठकमा नेपाली कांग्रेस र नेकपाले आ–आफ्नो प्रस्तावमा लचकता देखाउँदै आफुले प्रस्ताव गरेको नाममा मधेश जोडन सहमत भएतापनि सत्तापक्षको अडान कायम नै रहेपछि समितिमा प्रदेशको नाममा सहमति जुटन सकेको छैन् ।नामकरण सम्बन्धमा सत्तापक्षको अडान कायम रहेपछि गणितीय हिसाबले दुई तिहाइ पुग्ने सम्भावना न्यून देखिएको छ ।
नामकरण र राजधानीको प्रस्ताव पारित गराउन दुई तिहाइ मत आवश्यक हुन्छ ।प्रदेश २ मा सत्तासीन समाजवादी पार्टीको ३०, राजपाको २५, नेकपाको ३२, नेपाली कांग्रेसको १९ र नेपाल संघिय समाजवादी पार्टीका एकजना प्रदेशसभा सदस्य छन् । दुई तिहाइको संख्या पुर्याउन कम्तीमा ७१ मत आवश्यक पर्नेछ ।
फेसबुक पेज Like गर्नुहोस