जातिय विभेद भएको भन्दै पीएसजी र इस्तानबुलबीचको खेल स्थगित
काठमाडौं, एजेन्सी - च्याम्पियन्स लिगको समूह चरणको खेल अन्तर्गत फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन र टर्कीस क्लब इस्तानबुल बासाक्सेहिरबीचको खेल रोकिएको छ । खेलको १५ औं मिनेटमा सहायक रेफ्रीले इस्तानबुलको बेन्चतर्फ इंगित गर्दै मुख्य रेफ्रीलाई कार्ड दिनका लागि संकेत गरे ।
उक्त क्रममा उनले रंगभेदी टिप्पणी गरेको आरोप इस्तानबुलका खेलाडीले लगाए । रेफ्रीहरुले उक्त आरोपको खण्डन गरिरहँदा दुवै टोलीका खेलाडीले त्यसको विरोध गरे ।
रेफ्रीहरुले अडान जारि नै राखेपछि दुवै टोलीका खेलाडीले मैदान छाडेका थिए । झन्डै १० मिनेटको छलफलपछि पनि खेलाडी र रेफ्री पक्षबीच समझदारी हुन नसक्दा खेलाडीहरुले मैदान छाड्न पुगेका हुन् ।
खेलको १५ मिनेट पुग्दा खेल रोकिन पुगेको थियो । दुवै टोली गोलरहित बराबरीमा छन् । अब उक्त रेफ्रीलाई हटाएपछि मात्र खेल सुरु गर्ने इस्तानबुलको मागमा पिएसजीले सहमति जनाएको थियो । अब यी दुईबीचको खेल आज (बुधबार) राति ११ः४० बजे हुने भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस