काठमाडौं-त्रिभुवन विश्वविद्यालय उपप्रध्यापक प्रेम चलाउनेको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध परेको रिट सुनुवाइ हुँदै छ । चलाउनेविरुद्धको रिटमाथि सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको इजलासमा सुनुवाइ भइरहेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, महान्यायधिवक्ताको कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय, जिल्ला अदालत काठमाडौं र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय समेतलाई विपक्षी बनाएर रिट दायर भएको थियो ।

चलाउनेलाई २०७७ असोज २० गते त्रिभुवन विश्वविद्यालय परिसरमै कांग्रेस भ्रातृसंगठन नेविसंघ त्रिविका इकाइ अध्यक्ष आचार्यको समूहले कुटपिट गरी गम्भीर घाइते बनाएको थियो ।

सो मुद्दाको अन्तिम सुनुवाइका लागि मंगलबार पेसी तोकिएको थियो । तर, सरकारले गत जेठ ३० गतेको मन्त्रिपरिषद्को बैठकमार्फत् सो मुद्धा फिर्ता गर्ने निर्णय गरेको थियो ।

सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेपछि चलाउने यसअघि न्याय माग गर्दै काठमाडौं जिल्ला अदालत पुगेका थिए । सो क्रममा प्रहरीले अदालत परिसरबाटै सोमबार पक्राउ गरेको थियो । 

चलाउनेलाई २०७७ असोज २० गते नेविसंघका कार्यकर्ताहरूले आक्रमण गरेर गम्भीर घाइते बनाएका थिए । आचार्यसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन अवस्थामा थियो। मुद्दाको अन्तिम सुनुवाईका लागि मंगलबार पेसी तोकिएको थियो। सरकारले सो मुद्दा फिर्ता लिएपछि चलाउनेले आफू अन्यायमा परेको बताउँदै आएका छन् ।