जनकपुरधाम - सेवाग्राहीमाथि कार्यालय परिसरमा कुट्ने यातायात व्यवस्था कार्यालय बाराका निमित्त प्रमुख अनित आचार्यको जिम्मेवारी खोसिएको छ ।
कार्यालयमै सेवाग्राहीमाथि हातपात गरेको भिडियो सार्वजनिक भएसँगै श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेशले उनलाई जिम्मेबारीबाट हटाएर मन्त्रालय तानेको हो। स्रोतका अनुसार उनी सोमबार नै मन्त्री स्तरीय निर्णयबाट मन्त्रालय तानिएका हुन् । उनको स्थानमा बारा यातायात व्यवस्था कार्यालयका अधिकृत रामस्वार्थ महतोलाई पठाइएको छ ।
यता उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएसँगै जिल्ला प्रहरी कार्यालय बाराले घटनाबारे अनुसन्धान थालेको छ । प्रहरीका अनुसार सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि घटनाको वास्तविकता बुझ्न धनुषा प्रहरीमार्फत बारा प्रहरीले आचार्यलाई कार्यालय झिकाएको छ ।
उनलाई नियन्त्रणमा नलिए पनि कार्यालयमा बोलाएर घटनाबारे बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ । गत फागुनको तेस्रो सातातिर उनले आफ्नो कार्यकक्षमा एक सेवाग्राहीमाथि हातपात गरेका थिए । प्रहरीका अनुसार कार्यालय प्रमुखको कार्यकक्ष बाहिर एक सेवाग्राहीसँग विवाद चर्किएपछि दुवै पक्षबीच हातपात भएको थियो ।

.gif)


