भ्रष्ट र ठगमाथि निर्धक्क भएर कारवाही गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्ट र ठगमाथि निर्धक्क भएर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लब परिसरमा निर्मित ‘द ब्लु पेभिलियन’को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
प्रधानमन्त्री ओलीले कुनै पनि प्रकारको दबाबमा नपरी प्रमाण र तथ्यमा आधारित भएर न्यायसंगत अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिए।
उनले देशमा विधिको शासन तथा शान्ति सुरक्षा कायम गर्ने काममा दृढताका साथ अघि बढ्न निर्देशन दिए।
प्रधानमन्त्री ओलीले भने,’तपाईंहरू जनताको अपेक्षाअनुसार चल्नुपर्छ । जनताले प्रहरीबाट निष्पक्ष र असल व्यवहारको अपेक्षा गरेका छन् । त्यसैले तपाईंहरू संविधान र कानुनबमोजिम देश र जनताको हितलाई केन्द्रमा राखेर काम गर्नुस् । कुनै तस्कर, भ्रष्ट र ठगहरूमाथि निर्धक्क भएर अनुसन्धान गर्नुस् । मुलुकमा शान्ति सुव्यवस्था कायमका साथै राष्ट्रिय हित र एकतालाई ध्यान दिएर अझ प्रभावकारी रूपमा काम गर्नुस्।’
प्रधानमन्त्री ओलीले नेपाल प्रहरीलाई सबै प्रहरीको घरका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए। प्रधानमन्त्री ओलीले नेपाल प्रहरी आफन्तहरूको संस्था नभई सबै प्रहरीको घर भएकाले कार्य सम्पादनका आधारमा बढुवा हुनुपर्ने बताए ।
प्रहरी संगठन देशका लागि हो भन्ने कुरा मनन गर्नुपर्ने उनको भनाइ थियो । नेपाल प्रहरी स्वाभिमानी संस्था भएकाले देशको आवश्यकता विपरीतका काम प्रहरीबाट हुन नहुने उनले बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस